एजेन्सी । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अल्भेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान, अर्टुरो भिदाल, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे ।
अल्भेसका पीरी पोन्सले एक गोल फर्काए ।

क्याम्प नाउमा खेलको १४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४५ औं मिनेटमा भिदालले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
५६ औं मिनेटमा पोन्सले गोल गर्दै अल्भेसलाई २-१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए । मेस्सीले नयाँ सिजनमा क्लब र देशका लागि ५० औं गोल पुरा गरे ।
त्यसपछि खेलको ७५ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ । र, लिगमा बार्सिलोनाले तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३६ अंक रहेको छ ।
अल्भेस १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
