काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछ ।
एक दिनको विश्रामपछि दोस्रो चरणका खेल हुन लागेका हुन् । शुक्रबार पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
अर्काे खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने तय छ ।
पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्न १२ बजे सुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
यसअघि साढे १२ बजे हुँदै आएको खेल एन्फाले आधा घण्टा अगाडी सारेको हो ।
दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् ।
मछिन्द्र र च्यासलको भिडन्त
लिगको पहिलो चरणमा स्पष्ट जित निकाल्ने टिममा पर्छन्, च्यासल युथ क्लब र मछिन्द्र क्लब । दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका दुवै क्लब दोस्रो चरणमै आमने सामने हुदैछन् ।
च्यासल र मछिन्द्रबिचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा हुनेछ । खेल मध्यान्न १२ बजे सुरु हुनेछ । राष्ट्रिय टिमका अनुभवी खेलाडीसहित मैदान उत्रदै गर्दा दुवै टिम स्पष्ट जित निकाल्दै अघि बढ्न चाहन्छन् ।
यसअघि लिगको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले गत सिजनको उपविजेता संकटालाई समान २–० गोल अन्तरले हराएका थिए ।
गत सिजन लिगको पुछारमा रहेको मछिन्द्रले सुरुवातमा एक अंक गुमाएर नयाँ सिजनको सुरुवात गरेको थियो । सोही कारण मछिन्द्र २ अंक सहित लिगको चौथो स्थानमा छ ।
ऋण अंकबाट लिगको सुरुवात गरेको मछिन्द्रमाथि च्यासल दबाब बनाउने योजनामा छ । उसले पहिलो खेलमा संकटालाई हराएर ३ अंक हासिल गरेको थियो । च्यासल स्टार खेलाडीले भरिएको मछिन्द्रलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मछिन्द्र राम्रो टिम भएपनि स्पष्ट जितका लािग खेल्ने बताउँछन् ।
‘मछिन्द्र राम्रो टिम हो । हामी जित्नको लागि मैदान उत्रन्छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा च्यासलले भिषा प्रक्रियामा ढिला हुँदा तीन जापानी खेलाडी मैदान उतार्न पाएको थिएन । मछिन्द्रबिरुद्ध भने उसले तीनवटै खेलाडी मैदान खेलाउन पाउनेछ ।
प्रशिक्षक साहुखलले बलियो मछिन्द्रले आक्रमक फुटबल खेल्ने हुँदा आफुहरु पनि आक्रमणमै जोड दिने बताउँछन् ।
गत सिजनको लिगमा दुवै क्लबले गोलरहित बराबरी खेलेका थिए ।
यता, मछिन्द्र क्लब पनि च्यासलविरुद्ध जितको लागि खेल्ने बताउँछ । क्लबका कप्तान विराज महर्जन च्यासलविरुद्ध तीन अंकका लागि खेल्न टिम तयार रहेको बताउँछन् ।
‘टिम पुर्ण रुपमा तयारी छ । च्यासलविरुद्ध तीन अंकका लागि खेल्दैछौं । उनी भन्छन् ।
विदेशी खेलाडीको भिषा प्रक्रियामै रहेका कारण मछिन्द्र पहिलो खेलको सेट सहित मैदान उत्रनेछ ।
ब्रिगेड र फ्रेन्ड्सको अंक जोड्ने प्रयास
राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले लिगको दोस्रो खेलमा कुपन्डोलको फ्रेन्ड्स क्लबको सामना गर्दैछ । शुक्रबार दशरथ रंगशालामा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज भिड्न लागेका हुन् । खेल दिनको ३ बजे सुरु हुनेछ ।
यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् ।
यसअघि भएको पहिलो खेलमा ब्रिगेड क्लब मछिन्दसँग २–० गोल अन्तरले पराजित भएको थियो । फ्रेन्ड्स भने त्रिभुवन आर्मीसँग २–१ गोल अन्तरले हारेको थियो ।
पहिलो दिन आफ्ना तीन ब्राजेलीयन खेलाडी खेलाउन नपाएको फ्रेन्ड्सले ब्रिगेडविरुद्ध भने मैदान उत्रानेछ । तीन जनै खेलाडीले आर्मीविरुद्ध भिषा प्रक्रियाका कारण खेल्न पाएका थिएनन् ।
यस्तो अवस्थामा फ्रेन्ड्स गत सिजन ब्रिगेडसंग हारको बदला लिन चाहन्छ । गत सिजन फ्रेन्ड्स ब्रिगेडसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फ्रेन्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ ब्रिगेडविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘पहिलो खेलमै सेट टिम खेलाउन पाएनौं । त्यसैले पराजित भयौं । अब विदेशी खेलाडी खेल्न पाउँछन् । ब्रिगेडविरुद्ध तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
ब्रिगेड ब्वाईज युवा खेलाडी र केही अनुभवी खेलाडीको साथमा फ्रेन्ड्सविरुद्ध जित निकाल्ने दाउमा हुनेछ ।
पहिलो खेलमा विदेशी खेलाडी खेलाउन नपाएको ब्रिगेडले शुक्रबार एक विदेशी डिफेन्डर मैदान उतार्ने योजना बनाएको छ । ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन कार्की फ्रेन्ड्सविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘सुरुवाती दिनकै सेटमा हुन्छ । पहिलो दिनको सेटमा एक विदेशी खेलाडी आउनेछन् । फ्रेन्ड्सविरुद्ध तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछौं ।’ उनले भने ।