एजेन्सी । फ्रान्सेली लिग कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोल अन्तरले हराएको हो ।
जितसंगै पीएसजी लिग कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
पीएसजीले खेलमा अग्रता २१ औं मिनेटमा पाब्लो सर्बियाको गोलबाट लिएको थियो । डी मारियाको पासलाई सदुपयोग गर्दै सर्बियाले गोल गरेका थिए ।
पीएसजीका लागि दोस्रो गोल ४० औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले गरे । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
त्यसको एक मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
पीएसजीका लागि एम्बाप्पेले छैटौै खेलमा समेत गोल गर्न सफल भए । उनले पछिल्लो ६ खेलमा पीएसजीका लागि ७ गोल गरेका छन् ।
४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाएका थिए । ५३ औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि एक गोल फर्काएका थिए ।
पीएसजीले शनिबार अब लिग वान खेलमा अमिन्ससंग प्रतिस्पर्धा गर्नेछ ।