काठमाडौं । 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य जगजित श्रेष्ठलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।
मनाङले बुधबार मिडफिल्डर जगजितसँग तीन महिनाको सम्झौता गरेको हो । सम्झौतासँगै जगजितले सहिद स्मारक 'ए' डिभिजन लिगको पुरै सिजन मनाङबाट खेल्नेछन् ।
मनाङका महासचिब अनिल गुरुङ र जगजितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता रकम भने गोप्य राखिएको छ ।
जगजित हाल अष्ट्रेलियामा बस्दै आएका छन् । उनी 'ए' डिभिजन लिगका लागि नेपाल आएका हुन् ।
लिगमा बुधबार मनाङले विजयी सुरुवात गरेको छ । मनाङको जितमा जगजितले एक गोलको लागि असिस्ट गरेका थिए ।
मनाङले एपीएफ क्लबलाई २-० ले पराजित गरेको हो । मनाङको जितमा विमल रानाले दुई गोल गरे ।