काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।
मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए।
यस्तै विमलले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे ।

खेलमा विमल म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले सोचेको जस्तै नतिजा आएको बताए ।
'आजको खेलमा जे सोचेका थियौं । ३ अंकको चाहेको थियौं त्यहिँ अनुसारको नतिजा हात पर्यो,' प्रशिक्षक प्रजापतिले भने, 'जितमा खुसी छौँ ।'

एपीएफले भने खराब सुरुवात गरेको छ ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीको तालमेल नमिल्दा सुरुवातमै गोल खाएको कारण पराजित भएको बताए ।
'खेल राम्रै भयो । खेलाडीको तालमेल नमिल्दा गोल खायौं । नयाँ खेलाडीको कारण पनि गार्हो भयो,' प्रशिक्षक तामाङले भने, 'दोस्रो हाफमा रणनीति परिवर्तन गर्यौ । बल पोजिसनमा पकड बनायौ । हाम्रो फिनिसिङ राम्रो भएन् ।'
प्रशिक्षक तामाङले मनाङ ठुलो टिम रहेको कारण खेलाडी आत्तिएको समेत बताए ।
