काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलले पुन: च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।
च्यासलका अध्यक्ष रमेश व्यञ्जनकारले सन्तोषले यस सिजन पनि च्यासलबाट खेल्ने जानकारी गराए । पछिल्लो समय जापानमा बस्दै आएका सन्तोषले रेलिगेसनबिना भएको गत सिजनको लिग च्यासलबाटै खेलेका थिए ।
यस्तै च्यासलले यस सिजनको लिगका लागि तीन जापानिज खेलाडी अनुबन्ध गर्ने भएको छ । च्यासलले जुन इचि ओजावा, हायातो वाकिनो र ताइगा नाकामुरालाई अनुबन्ध गरेको जनाएको छ ।
मिडिफिल्डर ओजावालाई भने च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलाईसकेको छ । अब दुई खेलाडी आउने छन् ।
च्यासल आउन लागेका हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दै आएका थिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ ।
ताइगो नाकामुरा जापानीज राष्ट्रिय यू-१५ टिमका पूर्व कप्तान समेत हुन् । उनले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडबाट खेलिसकेका छन् ।
च्यासलले यस अघि गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई अनुबन्ध गरिसकेको छ ।
मंसिर अन्तिम साताबाट हुने 'ए' डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।