काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेको यू–२३ राष्ट्रिय पुरुष फुटबल टिमले सोमबार दशरथ रंगशालामा तयारी गर्यो ।
चार बर्षयता बन्द प्राय रहेको दशरथ रंगशालामा नेपाली टिम सोमबार पहिलो पटक प्रवेश गरेको हो ।
२०७२ सालको बिनाशकारी भुकम्पले दशरथ रंगशाला थिलोथिलो बनेको थियो । तर यसको पुनर्निमाण समयमा सुरु हुन सकेन ।
सोही कारणले नेपालले दुई पटक साग आयोजनाको मिति सार्यो ।
तेस्रो पटक तय भएको साग मंसिर १५ बाट काठमाडौंमा सुरु हुदैछ ।
सागमा तयारीमा जुटेको फुटबल टिमका कप्तान सुजल श्रेष्ठले ढिलै भएपनि रंगशालाले पुर्णता पाउँदा खुसी लागेको बताए ।
‘बच्चादेखिनै हेरिएको रंगशालामा फर्कन पाएका छौं । रंगशालामा नखेलेको साढे ४ बर्ष भएछ । धेरै खुसी छौं । गेट भित्र छिर्दानै निकै उत्साहित भयौ ।’ उनले भने ‘ढिलै भएपनि रंगशाला बन्यो, धेरैे खुसी छौं ।’
साग आयोजनाको संघारमा फुटबल टिमले खेल्ने मैदानमा तयारी गर्न पाएको हो ।
यसअघि फिफा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको पहिलो घरको खेल दशरथ रंगशालामा हुने भनिएपनि पुर्वाधार अभावले सम्भव भएन ।
सागको पुरुष फुटबल दशरथ रंगशालामा हुनेछ । सागको खेल तालिका सार्वजनिक भईसकेको छ । नेपाल सम्मिलित समूह ए मा बंगलादेश र भुटान छन् । अन्तिम समयमा भारतले प्रतियोगिता नखेल्ने बताएको छ । पाकिस्तानले यसअघिनै प्रतियोगिता नखेल्ने बताईसकेको छ ।
बालगोपाल महर्जन नेतृत्वमा फुटबल टिमले जेठदेखि तयारी गर्दै आएको हो ।
तर राष्ट्रिय टिमका धेरै खेलाडी विश्वकप छनोटको तयारीमा रहँदा सिमित खेलाडीले मात्र तयारी गरेका थिए । भुटानमा भएको कुवेतविरुद्वको खेलमा कप्तान सुजल श्रेष्ठ, विकेश कुथु, बिक्रम लामा र नवयुग श्रेष्ठ लगायतका खेलाडी पछिल्लो साता साग टिममा सहभागी भएर तयारी गरिरहेका छन् ।
भारतको गुहाटी र सिलोङमा आयोजना भएको १२ औ सागको स्वर्ण पदक जितेको नेपाली टिम ४ महिनादेखि स्वर्ण जित्ने लक्ष्यसहित तयारीमा ब्यस्त छ ।
कप्तान सुजल टिमको तयारी राम्रो भएको र सागमा स्वर्ण जित्नका लािग खेल्ने बताउँछन् ।
‘विगत ४ महिनाबाट तयारी गरिरहेका छौं । स्वर्ण जित्ने लक्ष्य छ । त्यसकै लागि तयारी गरिरहेका छौं ।’ उनले भने ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबारमात्रै रंगशाला गएर फुटबल हेर्ने दर्शकका लागि टिकटको मुल्य निर्धारण गरेको छ । राखेपले सामान्यतर्फ ५ सय र भिआईपीतर्फ एक हजार मुल्य निर्धारण गरेको हो ।