काठमाडौं । क्विक्स कप अन्तर विद्यालय छात्र–छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सैनिक आवासीय माबि र सुपर सेन्स इन्ग्लिश बोर्डिङ स्कुलले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा सैनिक आवासीय र सुपर सेन्सले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । खेलमा दुवै टिमले पाएको अवसरमा गोल गर्न नसक्दा बराबरी खेलेको हो ।
दोस्रो खेलमा ओल्ड क्यापिटल स्कुलले सगरमाथा सेकेण्डरीसँग २-२ गोलको बराबरी खेलेको छ ।
यस्तै तेस्रो खेलमा श्री नारायण जनताले भक्तपुर इन्ग्लिश स्कुललाई ९-० ले हराएको छ ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।
क्विक्स कप अन्तर्गत पहिलो चरण र दोस्रो चरणका खेल सकिएसँगै एन्फाले फाइनल चरणका खेलको आयोजना गरेको हो । फाइनल चरणका लागि पुरुषतर्फ १६ विद्यालय तथा महिलातर्फ १२ विद्यालय रहेका छन् ।
पुरुषतर्फका १६ विद्यालयलाई ४ समूहमा विभाजन गरिएको छ भने महिलातर्फको १२ विद्यालयलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम नक आउट चरणमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार तथा चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।