एजेन्सी । इटालियन सिरी 'ए' अन्तर्गत एट्लान्टाविरुद्धको खेलमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नखेल्ने भएका छन् ।
सिरी 'ए' अन्तर्गत युभेन्ट्सले शनिबार उसैको मैदानमा एट्लान्टाको सामना गर्दैछ । युभेन्ट्सले घोषणा गरेको एट्लान्टाविरुद्ध खेल्ने २० सदस्सीय टिममा रोनाल्डो अटाएका छैनन् ।
युरो कप छनोट अन्तर्गत पोर्चुगलबाट खेल्दा चोट बोकेको कारण रोनाल्डोलाई टिममा नराखिएको युभेन्ट्सले जनाएको छ । राष्ट्रिय टिमका लागि ९९ गोल पुरा गरेका रोनाल्डोले युरो छनोट अन्तर्गत लिथुनिया र लक्समबर्गविरुद्ध खेलेका थिए ।
युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीजियो सार्रीले एट्लान्टाविरुद्ध रोनाल्डो पूर्ण फिट नभएको कारण मैदान नउत्रने बताए ।
'निश्चित समयमा खेलाडी रिकभर हुन र शान्त हुनुपर्दछ । उसले हामीलाई भने कि ऊ अहिले पनि स्वस्थ छैन। पोर्चुगलबाट पहिलो खेल खेल्दा राम्रो थियो तर दोस्रो खेलमा उनलाई पीडा थियो,' सर्रीले भने, 'त्यसैले रोनाल्डो एट्लान्टाका लागि तयार छैनन् ।'
सिरी 'ए' लिगमा युभेन्ट्स १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
