काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि श्रीलंकामा रहेको पुरुष बिच भलिबल टिमले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
श्रीलंकाको नेगोम्बो बिच कोर्टमा सोमबार मान बहादुर श्रेष्ठ र सञ्जु विक्रम शाहको जोडीले श्रीलंकाली टिमलाई २–० को सेटमा हराएको हो । मान र सञ्जुको जोडीले श्रीलंकाको टिमलाई २१–१८ र २१–१९ ले हराएको हो ।
यस्तै मान र दिल सुनारको जोडी भने श्रीलंकाको टिमसँग २२–२० र २१–१८ ले पराजित भए ।
अर्काे खेलमा राजु विक र सञ्जु शाहको जोडीले पनि श्रीलंका टिमसँग २–१ को हार व्यहोर्यो । उक्त खेलमा श्रीलंका २२–३०, २१–१९ र १५–१३ ले विजयी भएको थियो ।
त्यस्तै दिल सुनार र राजु विकको जोडी श्रीलंकाको टिमसँग २१–१९, २१–१८ र १५–१३ ले पराजित भयो ।

महिला तर्फ नेपालका दुवै टिम पराजित भयो ।
कोपिला उप्रेती र मनिषा चौधरीको जोडी श्रीलंकाको टिमले दुई खेलमा पराजित भयो । कोपिला र मनिषाको जोडी पहिलो खेलमा २१–१६, २१–१९ र दोस्रो खेलमा २१–१६, २१–१७ ले पराजित भएको हो ।
यस्तै बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीलाई पनि श्रीलंकाको टिमले पहिलो खेलमा २२–२०, २१–१६ र दोस्रो खेलमा २१–१७ र २१–१९ ले पराजित गर्यो ।
सागको विशेष तयारी तथा मैत्रीपूर्ण खेलका लागि नेपाली बिच भलिबल टिम श्रीलंकामा रहेका छन् ।
