आर्सनललाई घरेलु मैदानमै धक्का
-1775916660994.webp&w=3840&q=75)
काठमाडौं। बर्नमाउथले प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनललाई अप्रत्याशित हार चखाएको छ।
घरेलु मैदानमा इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले बर्नमाउथसँग २–१ को हार बेहोरेको हो। योसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग १२ अंकको अग्रता बनाउने मौका गुमाएको छ।
सबै प्रतियोगितामा पछिल्ला चारमध्ये यो उसको तेस्रो हार हो। एलेक्स स्कटले ७४औं मिनेटमा विजयी गोल गर्दै आर्सनलमाथि दबाब थपेका छन्। विशेषगरी अर्को हप्ता सिटीसँग हुने शीर्ष स्थानको प्रतिस्पर्धी खेलअघि।
मिकेल आर्टेटाको टोलीले सिटीभन्दा दुई खेल बढी खेलेको छ। आइतबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई हराए सिटीले अन्तर ६ अंकमा झार्न सक्छ। महत्त्वपूर्ण समयमा आर्सनलको प्रदर्शन खस्किँदै गएको देखिएको छ।
इङ्लिस लिग कपको फाइनलमा सिटीसँग र एफए कपमा दोस्रो डिभिजनको साउथह्याम्पटनसँग पराजित भएपछि चार उपाधि जित्ने सम्भावना समाप्त भएको थियो। च्याम्पियन्स लिगमा मंगलबार स्पोर्टिङ लिस्बनलाई १–० ले हराए पनि पछिल्लो हारले उपाधि दौडमा थप तनाव सिर्जना गरेको छ। विशेषगरी पछिल्ला तीन सिजन उपविजेतामै सीमित रहँदै आएको सन्दर्भमा।
बर्नमाउथले खेलको १७औं मिनेटमै जुनियर क्रुपीको नजिकैबाट गरिएको गोलमार्फत अग्रता लिएको थियो। ३५औं मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत बराबरी गरे। तर, आर्सनलले स्पष्ट अवसर सिर्जना गर्न सकेन र अन्ततः स्कटले विजयी गोल गर्दै खेल जिताए।
यससँगै बर्नमाउथले लगातार दोस्रो सिजन आर्सनललाई उसकै मैदानमा हराएको छ। प्रिमियर लिगमा लगातार १२ खेल अपराजित रहने नयाँ क्लब कीर्तिमान पनि बनाएको छ।





-1775884046825.webp&w=3840&q=75)






