काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस
मंगलबार, २७ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबले काभा वुमन्स लिगमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको छ।
माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको खेलमा पुलिसले श्रीलंकाको हिर्दारामानी क्लबलाई ३–१ सेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो।
खेलमा पहिलो सेट २५–२१ ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१६ तथा चौथो सेटमा २५–२२ ले विजयी भयो।
यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लब काजकिस्तानको तुरान भलिबल क्लबसँग ३–० सेटले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो। यद्यपि तेस्रो स्थानको खेलमा जित निकाल्दै पुलिसले प्रतियोगितामा कास्य पदक सुरक्षित गरेको छ।
















