काठमाडौं । नेपाल इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४-० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो ।
खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २-० को बनाए ।
नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४-० को जित दिलाए ।
जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।
छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट (युएई) सँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले युएईलाई २-० ले हराएको छ ।
अब नेपालले छनोटको अन्तिम खेलमा आईतबार किर्गीस्तानको सामना गर्नेछ ।
यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।