एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले आगामी डिसेम्बरमा २४ घण्टाभित्र दुई क्लबसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
इन्ग्लिश फुटबल लिग (ईएफएल) ले काराबाओ कपको क्वाटरफाइनल खेलको मिति तय गरेपछि लिभरपुलले २४ घण्टा भित्र दुई प्रतियोगिता खेल्नु पर्ने भएको हो ।
ईएफएलले लिभरपुल र एस्टन भिल्लाबीचको क्वाटरफाइनल खेल डिसेम्बर १७ मा गराउने निर्णय गरेपछि लिभरपुलले २४ घण्टा भित्र दुई ठुला प्रतियोगिता खेल्नु परेको हो ।
काराबाओ कपको क्वाटरफाइनल खेल खेलेको भोलिपल्ट १८ डिसेम्बरमा लिभरपुलले फिफा क्लब विश्वकपको सेमिफाइनल खेल्नेछ । क्लब विश्वकप कतारमा हुनेछ ।
यस्तोमा अब लिभरपुलले दुई क्लबविरुद्ध दुई फरक टिम मैदान उतार्नु पर्ने देखिएको छ ।
यस अघि विश्वकपसँग समय जुधेपछि लिभरपुलले ईएफएललाई क्वाटरफाइनल खेलको मिति हेरफेर गर्न अनुरोध गरेको थियो ।
यस्तै लिभरपुल डिसेम्बरमा निकै व्यस्त रहने भएको छ । डिसेम्बरमा मात्र लिभरपुलले विभिन्न ९ खेल खेल्नुपर्ने छ ।