काठमाडौं। भारतका अनुभवी स्पिनर अमित मिश्राले ४२ वर्षको उमेरमा क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका छन्।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) , हरियाणा क्रिकेट संघ, सहकर्मी तथा परिवारलाई धन्यवाद दिँदै मिश्राले क्रिकेटमा बिताएका २५ वर्षलाई आफ्नो जीवनका अविस्मरणीय क्षण भएको बताएका छन्। उनले भने, “क्रिकेटले मलाई अनगिन्ती सम्झना र अनमोल सिकाइ दिएको छ। मैदानमा बिताएको प्रत्येक पल अद्भुत रह्यो, जसलाई म जीवनभर सम्झिरहनेछु।”
मिश्राले करिअरमा कुल एक हजार ७२ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटतर्फ उनले २२ टेस्टमा ७६ विकेट, ३६ एकदिवसीयमा ६४ विकेट र १० टी–२० अन्तर्राष्ट्रियमा १६ विकेट आफ्नो नाममा लेखेका छन्। सन् २०१६ पछि उनी टेस्ट र एकदिवसीय टोलीबाट बाहिरिएका थिए भने २०१७ मा टी–२० टोलीबाट पनि निस्किए र पुनः फर्कन सकेनन्।
तर, घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै उनले फर्स्ट–क्लासमा ५३५, लिस्ट ‘ए’ मा २५२ र टी–२० मा २८५ विकेट लिए। इन्डियन प्रिमियर लिग (आइपीएल)मा पनि उनले उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
सन् २००८ देखि २०२४ सम्म खेलेका मिश्राले १६२ खेलमा १७४ विकेट लिए। उनी आइपीएलमा तीन पटक ह्याट्रिक लिने एक मात्र भारतीय बलर हुन्। दिल्ली क्यापिटल्सका लागि सन् २०१६ देखि २०२१ सम्म खेलेका उनी ११४ विकेट लिएर फ्रेन्चाइजका सर्वाधिक सफल बलर बने।
रवीचन्द्र अश्विनले जस्तै मिश्राले पनि अन्तर्राष्ट्रिय क्रिकेट र आइपीएलबाट सन्न्यास लिएपछि विदेशका विभिन्न टी–२० लिग खेल्ने सम्भावना रहेको छ।