एजेन्सी । इटालियन सिरी 'ए' क्लब हेलास भेरोनाले घरेलु मैदानमा हुने एक खेल समर्थकबिना बन्द रंगशालामा खेल्नु पर्ने भएको छ ।
भेरोनाका समर्थकहरुले ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि सिरी 'ए' फुटबलले भेरोनालाई कारबाहीस्वरूप एक खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ ।
यस्तै भेरोनाले बालोटेलीलाई दुर्व्यवहार गर्ने आफ्ना समर्थकहरुलाई ११ वर्षको प्रतिबन्ध लगाएको छ ।
सिरी 'ए' लिग अन्तर्गत आइतबार राति भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई दुर्व्यवहार भएको थियो । भेरोनाको घरेलु मैदानमा विपक्षी टिमका समर्थकले उनलाई दुर्व्यवहार गरेका थिए । जसको कारण खेल केहि समय रोकिएको थियो ।
भेरोनाका समर्थकले बादरको जस्तो आवाज निकाल्दै बालोटेलीलाई जिस्काएका थिए । विपक्षी समर्थकको दुर्व्यवहारपछि बालोटेलीले ५४ औं मिनेटमा बल टिपेर समर्थकतर्फ प्रहार गरेका थिए । र, मैदानको पिच बाहिर निस्किएका थिए । उक्त खेलमा भेरोनाले २-१ को जित निकालेको थियो ।