झापा । विभागीय टिम नेपाल पुलिस क्लब झापामा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित समय दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालले गोल गरे । सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो ।
त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए । उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
पेनाल्टी अघि हरि कार्कीले ३० औं स्थानमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भोला सिलवालले गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।
खेलमा पुलिसका भोला म्यान अफ दी म्याच घोषित भए ।
पुलिसले झापा ११ लाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । एपीएफ भने बाइ पाएर सोझै क्वाटरफाइनलमा पुगेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच खेल हुनेछ ।
गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।