एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले लज्जास्पद हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा वायर्नले फ्रान्कफर्टसँग ५-१ गोल अन्तरको फराकिलो हार व्यहोरेको हो ।
घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन फिलिप कोस्टिक,डिजब्रिल सो, डेभिड अब्राहम, मार्टिन हिन्टेरेगेर र गोन्सालो पासिन्सियाले एक एक गोल गरे ।
१० खेलाडीमा सिमित वायर्नका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा जेरोमी बोताङले रातो कार्ड पाउँदा वायर्न १० खेलाडीमा समेटिएको थियो ।
यो हारसँगै वायर्नले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको वायर्नले १० खेलबाट १८ अंक जोडेको छ ।
फ्रान्कफर्ट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमण्डले वुल्फवर्गलाई ३-० ले हराएको छ ।
त्यस्तै वायर लिभरकुसेनलाई २-१ ले हराउँदै बोरुसिया मोन्चेनग्लाडवाच लिगको शीर्ष स्थानमा उक्लिएको छ । आरबी लिपजिगले मैन्जलाई ८-० ले हराएको छ ।