काठमाडौं । नागर्जुन नगरपालिका वडा ५ को ‘ए’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ५ ‘ए’ ले वडा ४ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो ।
निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगिताको दोश्रो दिन आइतबार दुई खेल हुने छ ।
प्रतियोगिताको नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मेयर बस्नेतले प्रतियोगिता स्थल हसन्टार फुटबल मैदान हातामा वृक्षारोपन पनि गरेका थिए ।
नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । अनुशासित टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ । फाइनल कात्तिक ३० गते हुने छ ।