काठमाडौं । पुननिर्माण भईरहेको नेपालको एक मात्रै अन्तराष्ट्रिय स्तरको रंगशाला दशरथ रंगशालामा सिट राख्ने कार्य सुरु भएको छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र फिफा विश्वकप छनोट अन्तर्गत घरेलु खेललाई लक्षित गरेर द्रुत गतिमा निर्माण भईरहेको रंगशालामा बिहिबारबाट सिट राख्ने कार्य सुरु भएको हो ।
दशरथ रंगशालाको भिआइपी प्यारापिटको निर्माण कार्य जारी रहदा दर्शक दिर्घाको प्यारापिटमा भने सिट राख्न थालिएको हो ।
रंगशालाको सामान्य प्यारापिटमा चार रंगको सिट राखिने छ । सिट निलो, पहेलो, रातो र हरियो रंगको हुनेछ ।

प्यारापिटमा सिट राख्ने काम करिब १०–१५ दिनभित्र सकिने कामदारले बताएका छन् ।
‘आजबाट सिट राख्न थालिएको छ । हामीलाई १०–१५ दिनभित्र सक्नुपर्ने बताइएको छ र हामीले पनि त्यहीं समयमा सक्छौ ।’ एक कामदारले खेलपाटीसँग भने ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद आगामी मंसिर १५ देखि २५ गतेसम्म हुँदैछ । र, सागको उद्घाटन दशरथ रंगशालामा गर्ने तयारी गरिएको छ ।

साग अघि नेपालले विश्वकप छनोट अन्तर्गत कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा पहिलो घरेलु खेल खेल्दैछ ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल छनोटको समूह 'बी' मा रहेको छ ।

छनोटमा नेपालले अब घरेलु मैदानमा खेल्न बाँकि रहेको छ । छनोटमा ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।




