काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनियुक्त टेक्निकल डिरेक्टर (प्राविधिक निर्देशक) ग्यारी माइकल फिलिप्स नेपाल आईपुगेका छन् ।
अष्ट्रेलिया पूर्व खेलाडी समेत रहेका ग्यारी सोमबार नेपाल आईपुगेका हुन् । एन्फाले केहि दिनमा ग्यारीलाई औपचारिक रुपमा डिरेक्टर नियुक्त गर्नेछ ।
नेपालले ग्यारीसँग सुरुवातमा एक वर्षका लागि सम्झौता गर्ने एन्फा स्रोतले जनाएको छ ।
टेक्निकल डिरेक्टरका लागि एन्फाले गत जेठमा माग गरेको पदमा ग्यारीले निवेदन दिएका थिए । एन्फाको पदपुर्ती समितिले प्राप्त निवेदनका आधारमा ग्यारीको नाम सिफारिस गरेको थियो ।
टेक्निकल डिरेक्टर नियुक्त भएसँगै ग्यारीले नेपाली फुटबलको रणनीतिदेखि खेल्ने शैलीको बिषयमा अनुसन्धान तथा विकास गर्नेछन् । ग्रास रुट फुटबलदेखि युवा फुटबल विकासको परियोजनाको रणनीति बनाउने जिम्मेवारी नयाँ टेक्निल डिरेक्टरको हुनेछ ।
अष्ट्रेलियाका पूर्व मिडफिल्डर ग्यारीले अष्ट्रेलियाको टिमबाट उमेर समूहको प्रतियोगिता खेलेका थिए ।
उनले एक दशक बढी लामो समय अष्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा बिताएका थिए । त्यसपछि उनले ब्रिसबन स्ट्राईकर्सबाट ब्यवसायिक फुटलब खेलेका थिए । उनले दुवै क्लबबाट उपाधि समेत जितेका थिए ।
फिलिप्सले टेक्निकल डिरेक्टरको रुपमा मलेसियन प्रिमियर लिग क्लबको समेत नेतृत्व गरेका थिए । उनीले पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको समेत नेतृत्व गरेका थिए ।
ग्यारीले मलेसियन प्रिमियर लिगका विभिन्न क्लबको प्रशिक्षकको भूमिकामा समेत काम गरेका छन् ।