काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत घरेलु खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी सुरु भएको छ ।
नेपाली टिमले बुधबारबाट एन्फा टेक्निकल सेन्टरमा तयारी सुरु गरेको हो ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाली टिमले तिहार सकिए लगत्तै तयारी थालेको हो ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अब घरेलु मैदानमा खेल्न बाँकि रहेको छ । छनोटमा ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
अब नेपालले मंसिर ३ गते दशरथ रंगशालामा कुवेतसँग पहिलो घरेलु खेल खेल्दैछ । त्यसअघि नेपालले म्यानमारसँग कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले पहिलो दिन बुधबार सामान्य प्रशिक्षण गरेको थियो । बिहिबारबाट भने नेपाली टिमले पुर्ण प्रशिक्षण थालेको छ ।

मुख्य प्रशिक्षक जोहान कालिनले घरेलु खेलका लागि तीन नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । कालिनले भरत खवास, एलेन न्यौपाने र सुभाष गुरुङलाई बोलाएका हुन् ।
भरत खवास विभागीय ट्रेनिङका लागि थाईल्याण्ड गएका कारण अघिल्ला खेलमा टिममा थिएनन् । उनले अघिल्ला ४ खेल गुमाएका थिए ।
मुख्य प्रशिक्षक कालिनले पूर्व कप्तान तथा डिफेन्डर विराज महर्जनलाई भने प्रशिक्षणमा बोलाएका छैनन् ।
नेपाली टिमको प्रशिक्षणमा भने कप्तान किरण चेम्जोङ र रोहित चन्द उपस्थित थिएनन् ।
रोहित इन्डोनेसियन लिगमा व्यस्त रहदा किरण भारतिय आईलिग टिम मिनेर्वा पन्जाबको प्रि-सिजन तयारीका व्यस्त छन् ।






