एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा दुवै टिम १० खेलाडीमा समेटिएको थियो । र, खेलमा सुरुवाती अग्रता युभेन्ट्सले नै बनाएको थियो ।
खेलको ३६ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा क्रिस्टियन कौआमेले गोल गर्दै जिओनालाई १-१ गोलको बराबरी फर्काए ।

खेलको ५१ औं मिनेटमा फ्रान्सिस्को कास्सटाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा जिओना १० खेलाडीमा समेटियो । त्यस्तै खेलको ८७ औं मिनेटमा एड्रिन राबिओटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स पनि १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-१ को संघर्षपूर्ण जित दिलाए ।
जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । युभेन्ट्सले १० खेलबाट २६ अंक जोडेको छ । पराजित जिओना ८ अंक जोडेर १७ औं स्थानमा छ ।
लिग अन्तर्गत नै अर्को खेलमा रोमाले उडिनेसलाई ४-० ले हराएको छ । नापोली र एट्लान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।