एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले फराकिलोजित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ५-० गोलको फराकिलो अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे ।
सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो । आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो ।
२४ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो ।
६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोभिकले गोल गर्दा रियल ५-० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ ।
दोस्रो स्थानको रियलले १० खेलमा २१ अंक जोडेको छ । बार्सिलोनाको २२ अंक छ । लेगानेस ५ अंक जोडेर पुछारमा रहेको छ ।

ला लिगा अन्तर्गत अन्य खेलमा भ्यालेन्सिया र सेभियाले १-१ गोलको बराबरी खेल्दा लेभान्टेले रियल सोसीडाडलाई २-१ ले हराएको छ ।
यस्तै एथ्लेटिको बिल्बाओले स्पानियोललाई ३-० ले तथा रियल बेटिसले सेल्टा भिगोलाई २-१ ले हराएको छ ।
