एजेन्सी । इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा ब्रेसियालाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
ब्रेसियाको मैदानमा २३ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
६३ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए । यसै सिजन इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर आएका लुकाकुको यो सिजनको सातौं गोल हो ।

त्यसपछि खेलको ७६ औं मिनेटमा इन्टरका मिलान स्क्रिनियरले एक आत्मघाती गोल गरेपनि ब्रेसिया २-१ ले पराजित भयो ।
जितसँगै युभेन्ट्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको इन्टरले १० खेलबाट २५ अंक जोडेको छ । एक खेल कम खेलेको युभेन्ट्सको २३ अंक रहेको छ ।
पराजित ब्रेसिया ९ खेलमा ७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।