एजेन्सी । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । निकोलस ओटामेन्डीको नाममा एक गोल रह्यो ।
साउथह्याम्पटनका ज्याक स्टेफेन्सले एक गोल फर्काए ।

इदिहाद स्टेडियममा खेलको २२ औं मिनेटमा निकोलसको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३८ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २-० को बन्यो ।
खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा साउथह्याम्पटनका ज्याकले एक गोल फर्काए पनि सिटीले ३-१ ले खेल आफ्नो बनायो ।

यस्तै एभर्टनले वाट्फोर्डलाई २-० ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको छ । बुर्टोन अल्बियनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर सिटी पनि क्वाटरफाइनलमा पुगेको छ ।

