एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे ।
यस्तै लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले एक गोल फर्काए ।
क्याम्प नाउमा खेलको दोस्रो मिनेटमा लेन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा भालाडोलिडका किकोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । २९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बन्यो । उनले फ्रिकिकबाट गोल गरेका थिए । यस्तै मेस्सीले फ्रिकिकबाट ५० औं गोल समेत पुरा गरे ।
७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाले ४-१ को अग्रता बनायो । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना ५-१ ले बिजयी भयो ।
जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
