एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
नर्विचको मैदानमा युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे ।
नर्विचका ओनेल हर्नान्डेजले एक गोल फर्काए ।
खेलको २१ औं मिनेटमा स्कोटले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।

स्कोटको गोलसँगै युनाइटेडले प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाएको छ । युनाइटेड लिगमा २ हजार गोल पुरा गर्ने पहिलो क्लब बनेको छ ।
स्कोटको गोलबाट अग्रता बनाएको युनाइटेडले ३० औं मिनेटमा राष्फोर्डको गोलबाट अग्रता दोब्बर बनाए । योसँगै राष्फोर्डले क्लबका लागि ५० गोल समेत पुरा गरे । उनले १८३ खेलमा क्लबका लागि ५० गोल पुरा गरेका हुन् ।

यस्तै खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेडको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा नर्विचका हर्नान्डेजले एक गोल फर्काए पनि युनाइटेडले सहज जित निकाल्यो ।
जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १० खेलमा १३ अंक जोडेको छ ।
पराजित नर्विच ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

