काठमडौं। जिम्बाब्वेका स्टार क्रिकेटर सिकन्दर रजा आइसिसी पुरुष एकदिवसीय (ओडीआई) अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगेका छन्।
श्रीलंकाविरुद्ध हरारेमा खेलेका दुई खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि उनले अफगानिस्तानका मोहम्मद नबी र अजमतुल्लाह उमरजईलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्।
रजाले दुई अर्धशतक प्रहार गरेका थिए भने पहिलो खेलमा १० ओभरमा ४८ रन खर्चेर एक विकेट लिएका थिए। टोलीले दुवै खेल गुमाए पनि रजाको व्यक्तिगत प्रदर्शनले उनलाई ३०२ रेटिङ प्वाइन्ट दिलाएको हो। यससँगै उनी अलराउन्डर वरीयतामा नबी (२९२) र उमरजई (२९६) भन्दा माथि पुगेका हुन्। उनको ब्याटिङमा पनि सुधार आएको छ, जसअनुसार उनी ९ स्थान उक्लिँदै २२औं स्थानमा पुगेका छन्।
यद्यपि, दुवै खेलमा विजयी श्रीलंकाली टोलीका खेलाडीहरूले पनि वरीयतामा उल्लेखनीय फड्को मारेका छन्। पथुम निस्सांका १२२ र ७६ रनको इनिङ्सपछि सात स्थान उक्लिँदै १३औं स्थानमा पुगेका छन्। जनिथ लियानागे १३ स्थान सुधार गर्दै २९औं स्थानमा पुगे भने बलिङतर्फ असिथा फर्नान्डो (३१औं) र दिलशन मदुशान्का (५२औं) पनि माथि उक्लिएका छन्।
दक्षिण अफ्रिकाले हेडिङ्लीमा इङ्ल्यान्डलाई पराजित गर्दा बलरहरूमध्ये केशव महाराज शीर्ष स्थानमा अझै मजबुत छन्। चार विकेटको प्रदर्शनसँगै उनीसँग अहिले ६९० अंक छन्, जुन दोस्रो स्थानभन्दा ३१ अंकले बढी हो। अर्का प्रोटियाज बलर लुंगी न्गिडी २३औं स्थानमा पुगेका छन् भने इंग्ल्यान्डका जोफ्रा आर्चर हारको बाबजुद १९औं स्थानमा प्रवेश गरेका छन्।
यसैबीच, अलराउन्डर वरीयतामा तल झरे पनि अफगानिस्तानका मोहम्मद नबी टी–२० वरीयतामा दोस्रो स्थानमा पुगेका छन्। उनी भारतका हार्दिक पाण्ड्यापछि दोस्रोमा रहेका छन्। नबीले शारजाहमा युएई र पाकिस्तानविरुद्धको त्रिकोणात्मक सिरिजमा तीन खेलमा चार विकेट लिएका थिए।
अर्का अफगान खेलाडी इब्राहिम जादरान टी–२० ब्याटिङ वरीयतामा १२ स्थान उक्लिँदै २०औं स्थानमा पुगेका छन्। उनले ६३ र ६५ रनको इनिङ्स खेलेका थिए। पाकिस्तानका सुफियान मुकिम पनि ११ स्थान बढ्दै टी–२० बलिङ वरीयतामा २२औं स्थानमा पुगेका छन्।