एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । अपराजित रहेको लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अघि रहेको छ ।
पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

