एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लेसीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले बराबरी खेलेको हो । युभेन्ट्सले पाउलो डिबालाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
डिबालाले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । तर, खेलको ५६ औं मिनेटमा मार्को मन्कोसुले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरी फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

लेसीविरुद्ध युभेन्ट्स मुख्य स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विना मैदान उत्रिएको थियो । मौरीसियो सर्रीले रोनाल्डोलाई विश्राम दिएका थिए ।
यो बराबरीसँगै साविकको विजेता समेत रहेको युभेन्ट्सले ९ खेलमा २३ अंक जोडेको छ । र, युभेन्ट्स शीर्ष स्थानमा यथावत रहेको छ ।
युभेन्ट्सलाई बराबरीमा रोक्न सफल लेसीले ९ खेलमा ८ अंक जोडेको छ ।