काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार पुगेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम भोली (आइतबार) स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आइतबार बिहान ९ बजे नेपाल आईपुग्ने जनाएको छ ।
नेपाली यू-२३ टिमले शुक्रबार राति म्यानमारको यू-२२ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । नेपालको लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । म्यानमारका लिविन मोए अङले दुई गोल गरेका थिए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको यू-२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार पुगेका थिए ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।