काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपालले जोर्डनसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३-० ले पराजित भएको हो ।
घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरे ।
जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
अम्मान अन्तराष्ट्रिय रंगशालामा खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले सहजै गोल गरे ।
यस्तै खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३-० को सहज जित दिलाए ।
नेपाललाई हराएसँगै छनोटको समूह 'बी' को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ ।
छनोटमा तेस्रो हार ब्यहोरेको नेपालले भने ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा छ ।
यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।