काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल नेपाल टेलिभिजनले देखाउने भएको छ ।
जोर्डनको घरेलु मैदानमा हुन लागेको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न पाईने भएको हो ।
नेपालले छनोटको चौथो खेलमा आज (मंगलबार) राति जोर्डनसंग खेल्दैछ ।
यसअघि नेपाल र अष्ट्रेलियाबीचको खेल समेत नेपाल टेलिभिजनको एनटीभी प्लसले देखाएको थियो ।
विश्वकप छनोटको सो खेलको प्रशारण अधिकार युकेको आईएमजी समुहसंग छ ।
नेपाल टेलिभिजनले नेपालभर प्रशारण गर्ने शर्त सहित आईएमजी समुहसंग प्रशारण अधिकार लिएको थियो ।
जोर्डनको अम्मान अन्तराष्ट्रिय रंगशालामा हुने खेल साझ पौने १० बजे सुरु हुदैछ ।
करिब ८ बर्ष अघि नेपालले विश्वकप छनोट अन्तर्गत जोर्डनसंग प्रतिस्पर्धा गरेको थियो । जोर्डनको घरेलु मैदानमा भएको पहिलो अवे खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।
त्यसको पाँच दिनपछि नेपालमा भएको दोस्रो खेलमा भने नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।