काठमाडौं ।
ठिक ८ वर्ष अघि ।
सन् २०११ अक्टोबर २८ मा नेपालले दशरथ रंगशालामा जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
५ दिन अघि मात्र जोर्डनको मैदानमा नेपालले ९–० को लज्जास्पद हार व्यहोरेको थियो ।
घरेलु मैदानमा निकालेको १–१ को नतिजाले नेपाली फुटबललाई तत्काल केही राहत भने दिएको थियो ।
त्यो समय नेपालले सन् २०१४ मा ब्राजिलमा हुन गईरहेको विश्वकपको छनोट खेलिरहेको थियो ।
समयले दुवै देशको पुन एक भिडन्तको पटकथा तयार गरेको छ ।
यसको अर्थ भनेको फेरी एक पटक जोर्डन र नेपाल आमने सामने हुदैछन् ।
सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा दुवै टिम भोली (मंगलबार) भिड्न लागेका हुन् ।
संयोगवस नेपाली टिमले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्दैछ ।

मैदान उत्रदै गर्दा नेपालले ८ वर्षअघि जोर्डनसंग व्यहोरेको ९–० को नतिजालाई कम्तिमा सुधार गर्ने कोशिश गर्नेछ ।
जोर्डनको अम्मान अन्तराष्ट्रिय रंगशालामा उत्रदै गर्दा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।
फिफा बरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डनले घरेलु मैदानमा नेपाललाई पक्कै दबाबमा राख्न प्रयास गर्नेछ । नेपाली टिम कम्तिमा बलियो टिम जोर्डनविरुद्व अंक खोस्ने दाउमा हुनेछ ।
एसियाली छनोटको समुह डीमा रहेको जोर्डनले दुई खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ ।
उसले पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कुवेतसंग १–१ गोलको बराबरी खेलेको थियो ।
यता, नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।
गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो ।
नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहिन ताईपे तालिकाको पुछारमा छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग धेरै गोल ब्यहोरेपछि डिफेन्समा बढी ध्यान दिएका छन् ।
अग्ला कदका जोर्डनका खेलाडीलाई रोक्न नेपाली डिफेन्सले थप मेहनत गर्नुपर्नेछ ।
नेपाल र जोर्डन अहिलेसम्म मात्र दुई पटक आमने सामने भएका छन् ।
एक खेलमा जोर्डन विजयी बनेको छ भने अर्को बराबरीमा टुङ्गिएको छ ।
सन् २०११ मा जोर्डनविरुद्व खेलेका तीन खेलाडी नेपालको टिममा छन् ।
गोलरक्षक किरण चेम्जोङ नेपाली टिमको नेतृत्वमा छन् । रोहित चन्द र सुजल श्रेष्ठ नियमित सदस्यको रुपमा रहेका छन् । बाँकी सबै नयाँ अनुहारले जोर्डनको चुनौतीको सामना गर्नेछन् ।
जोर्डनविरुद्ध बराबरी गोल गरेका भरत खवास भने विभागीय ट्रेनिङमा व्यस्त रहेकाले टिममा छैनन् ।