काठमाडौं । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।
आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जनाएको छ । प्रतियोगितामा १८ टिमको सहभागिता रहने छ ।
कात्तिक ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ ।