काठमाडौं । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे ।
भुटानविरुद्ध खेलको १६ औं मिनेटमा तानबिरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा फाहिमले गोल गर्दा बंगलादेशको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ३२ औं मिनेटमा मिराजले गोल गर्दै पहिलो हाफमा बंगलादेशलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्यो । खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी दिपकले गोल गर्दै बंगलादेशलाई ४-० को फराकिलो जित दिलाए ।
समूह चरणमा नेपाललाई हराएर सनसनी प्रदर्शन गरेको भुटानले पनि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा पराजित भयो ।
योसँगै बंगलादेश पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो पटक सेमिफाइनल पुगेको भुटान भने फाइनल पुग्न असफल रह्यो ।
अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल आजै दिउँसो हुनेछ ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।