एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान पराजित भएको छ । बिहिबार राति भएको खेलमा मिलान टोरिनोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
टोरिनोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा मिलान पराजित भएको हो । खेलको १९ औं मिनेटमा क्रेजोस्टोफ पियाटेकले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा टोरिनोका आन्द्रिया बेलोट्टी नायक बने । बेलोट्टीले पाँच मिनेट भित्र २ गोल गर्दै टोरिनोलाई सनसनीपूर्ण जित दिलाए ।
खेलको ७२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७६ औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई २-१ को जित दिलाए ।

यो जितसँगै टोरिनोले लिगको पाँचौ स्थानमा उक्लिएको छ । टोरिनोले ५ खेलमा ९ अंक जोडेको छ । पाँच खेलमा ६ अंक जोडेको मिलान दशौँ स्थानमा रहेको छ ।