काठमाडौं । बंगलादेशमा आयोजना हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलका लागि ललितपुरे 'ए' डिभिजन क्लब थ्री स्टारले तयारी सुरु गरेको छ ।
थ्री स्टारले बिहिबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा तयारी सुरु गरेको हो । पहिलो दिनको प्रशिक्षणमा १८ खेलाडी रहेको मुख्य प्रशिक्षक मेघराज केसीले खेलपाटीलाई जानकारी गराए ।
'दशैँ र तिहारको बीचमा शेख कमल खेल्ने तय भएको छ । त्यसैको तयारी स्वरूप अभ्यास थालेका हौं । पहिलो दिन हामीले एन्फालाई पठाएको १८ खेलाडी डाकिएको थियो,' प्रशिक्षक केसीले भने ।

यस्तै प्रशिक्षक केसीले क्लबका केहि मुख्य खेलाडीहरु राष्ट्रिय टिमको तयारीमा रहेको प्रशिक्षणमा सामेल नभएको बताए ।
'राष्ट्रिय टिमका खेलाडी टिमको बन्द प्रशिक्षणमा छन् । एन्फामा नाम पठाएका धेरै खेलाडी नयाँ रहेका छन् । उनीहरुको परिक्षण गर्न तयारी थालेका छौँ । तर प्रतियोगिताका लागि राष्ट्रिय टिमका खेलाडीसहित जाने छौँ,' केसीले थपे ।
राष्ट्रिय टिमबाट खेलिसकेका तर टिममा नरहेका सिनियर खेलाडीहरु भने प्रशिक्षणमा आएको प्रशिक्षक केसीले बताए ।
बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने तेस्रो संस्करणको प्रतियोगिता आगामी कात्तिक २ देखि १३ गते सम्म चितागोङमा हुनेछ ।

एमए अजिज स्टेडियममा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा थ्री स्टारसहित बंगलादेशको चितागोङ अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने छन् ।
गत संस्करणमा नेपालबाट मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गरेको थियो । मनाङ सेमिफाइनलसम्म पुगेको थियो ।

तस्बिर : थ्री स्टार क्लबको फेसबुक पेज