काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य चार पटकको 'ए' डिभिजन लिग च्याम्पियन न्युरोड टिम एनआरटीका मुख्य प्रशिक्षक बनेका छन् ।
गत वर्ष च्यासल क्लबको नेतृत्व गरेका शाक्यले नयाँ सिजनको लिगका लागि एनआरटी क्लब रोजेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर १५ बाट ए डिभिजन लिग सुरुवात गर्दैछ ।
प्रशिक्षक श्रेष्ठले आफु यस सिजनको लागि एनआरटी क्लबमा आबद्ध भएको खेलपाटीलाई बताए ।
‘यस पटक एनआरटी हेर्ने भएको छु । तर आधिकारीक सम्झौता केहि समयपछि हुन्छ ।’ उनले भने ।
गत बर्ष उनले राष्ट्रिय टिमका खेलाडी देबेन्द्र तामाङ, विमल घर्तिमगर सम्मिलित च्यासल युथ क्लब हेरेका थिए ।
च्यासलले गत बर्षको लिगमा ४ जित, ४ बराबरी र ५ खेलमा हार व्यहोर्दै आठौं स्थानमा रहेर लिग टुंङ्गाएको थियो ।
एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले टिमको प्रशिक्षकमा राजु काजीलाई ल्याउने पक्का भएको खेलपाटीलाई बताए ।
‘यस पटक राजुकाजी शाक्यलाई प्रशिक्षकको लागि भित्राएका छौं ।’ उनले भने ।
एनआरटी क्लबले मुख्य प्रशिक्षकसंग दुई बर्षको सम्झौता गर्ने सोच बनाएको छ ।
यद्यपि दुवैतर्फको सम्झौता हुन बाँकी छ ।
एनआरटी क्लबका महासचिव श्रेष्ठ भन्छन्, ‘एक वर्ष लिने भैहाल्यो । तर अर्काे वर्षको लागि पनि सोच बनाएका छौं । आधिकारीक सम्झौता भैसकेको छैन । चाँडै निर्णय लिन्छौ ।’
गत संस्करण भएको विना रेलिगेशनको लिगमा एनआरटी पुछारमा थियो ।
राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका महेश्वर मुल्मीको प्रशिक्षकत्वमा रहेको उसले १३ खेलमा १ जित ४ बराबरी र ८ खेलमा हार ब्यहोरेको थियो ।
लिगका लागि अन्य क्लबले खासै चासो नदेखाएको बेला एनआरटी नयाँ सिजन निकै आक्रमक तरिकाले प्रस्तुत हुने संकेत देखाएको छ ।
उसले प्रशिक्षक पक्का गर्नु अघिनै राष्ट्रिय टिमका पुर्व खेलाडी प्रकाश बुढाथोकी र नेपाल पुलिस क्लबका कप्तान समेत रहेका डिफेन्डर विक्रम धिमाललाई क्लबमा अनुबन्धन गरिसकेको छ ।
यस्तै यू– २३ का एरिक विष्टलाई समेत क्लबमा ल्याएको छ ।
राष्ट्रिय टिमका खेलाडीलाई समेत अनुबन्धन गर्ने प्रयास गरिरहेको क्लबका महासचिव श्रेष्ठले जानकारी दिएका छन् ।
एनआरटी चार पटकको 'ए' डिभिजन लिग च्याम्पियन हो । उसले २०१७ साल २०१९, २०३५ र २०५२ सालमा लिग उपाधि जितेको थियो ।