एजेन्सी । स्पेनिस लिग ला लिगाका अध्यक्ष जेभियर टेबासले अर्जेन्टिनी स्टार लियोनल मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी भएका बताएका छन् ।
विश्व फुटबलमा पेले, डिएगो म्यारोडोना र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट रहेपछि मेस्सी सर्वोकृष्ट रहेको अध्यक्ष टेबासले बताए ।
‘उ इतिहासकै उत्कृष्ट खेलाडी हो,’ अध्यक्ष टेबासले भने, ‘उसलाई ला लिगामा पाउदा हामी धेरै भाग्यमानी छौ । म मेस्सीबिनाको लिग सोच्नपनि सक्दिन । उसलाई स्पेनिस लिगले जन्माएको हो र मलाई आशा छ उसले यहींबाट आफ्नो करियरको अन्त्य गर्छ ।’
बार्सिलोनाका कप्तान मेस्सीले सोमबार विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको वर्ष खेलाडी 'द वेष्ट' अवार्ड जितेका थिए । पाँच पटकको बालोन डी'ओर विजेता मेस्सीले क्रिस्टियानो रोनाल्डो र भान डाइकलाई पछि पारेका थिए ।
सन् २००४ देखि बार्सिलोनामा रहेका मेस्सीले क्लबबाट कीर्तिमानी ३४ उपाधि जितिसकेका छन् ।
मेस्सी ला लिगाको सम्पदा समेत रहेको अध्यक्ष टेबासको भनाई छ ।
'मेस्सी ला लिगामा आवश्यक तत्व हो किनभने उ ला लिगाको सम्पदा हो,' अध्यक्ष टेबासले भने ।
यस्तै अध्यक्ष टेबासले पीएसजीका स्टार नेयमारलाई ला लिगामा ल्याउन नसकिएको पनि बताए ।
‘मैले नेयमारलाई ला लिगामा फर्काउन चाहेको थिए,' टेबासले भने, ' मलाई आशा छ एकदिन नेयमारले स्पेनिस क्लबमा खेल्नेछन् ।’