काठमाडौं । भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलको भारतले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
भारतको जितमा गुर्किरात सिंहले दुई गोल गरे । यस्तै अमन क्षेत्रीको नाममा एक गोल रह्यो ।
खेलको ६१ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाए । ८९ औं मिनेटमा सिंहले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा क्षेत्रीले गोल गर्दै भारतलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'बी' को भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यस समूहबाट बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पनि २ खेलमा ४ अंक जोड्यो । तर, गोलाप्रथामा पछि पर्दा बंगलादेश उपविजेता बनेको हो ।
भारत र बंगलादेशबीच समान अंक, समान गोल र समान कार्ड भएपछि समूह विजेताको टुंगो गोलाप्रथाबाट गरिएको थियो । जसमा भारत भाग्यमानी ठहरियो ।
यसअघि भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंका भने बंगलादेशसँग ३-० ले नै पराजित भएको थियो । र, अंकविहिन श्रीलंका भने समूह चरणबाट बाहिरिएको छ ।
भारत र श्रीलंकाबीचको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत सकिएको छ ।
अब भारतले सेमिफाइनलमा समूह 'ए' को उपविजेता माल्दिभ्ससँग खेल्नेछ । यस्तै बंगलादेशले समूह 'ए' को विजेता भुटानसँग खेल्नेछ ।
दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।