काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलमा आज (बुधबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह 'बी' मा रहेका दुई टोलीको लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ । त्यसैले भारत र श्रीलंकाबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
उपाधि दाबेदार भारत श्रीलंकालाई हराउँदै सेमिफाइनल पुग्न चाहन्छ । श्रीलंकालाई फराकिलो अन्तरले हराउँन सके भारत समूह विजेता बन्ने सम्भावना हुन्छ । तर, सेमिफाइनल पुग्न भारतलाई बराबरीको नतिजाले पुग्नेछ ।
पहिलो खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । भारतले १ खेलमा १ अंक रहेको छ । बंगलादेश २ खेलमा ४ अंक जोडेर सेमिफाइनल पुगिसकेको छ ।
यता, श्रीलंका अंक विहीन रहदै पुछारमा रहेको छ । तर, भारतलाई हराउन सके श्रीलंका उपविजेता बनेर सेमिफाइनल पुग्नेछ । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।
समूह 'ए' बाट भने भुटान र माल्दिभ्स सेमिफाइनलमा पुगिसकेका छन् ।