काठमाडौं । साविक विजेता नेपाल घरेलु भूमिमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह 'बी' मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न भुटानले ३-० को जित निकाल्नु पर्ने आवश्यकता रहेको थियो । तर, दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो ।
नेपाल बाहिरिनुको मुख्य कारण भुटानसँगको लजास्पद हार रह्यो । पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा भुटानसँग ३-० को हार व्यहोरेको थियो । नेपाललाई त्यहिँ हारले अघिल्लो चरण पुग्नबाट रोकेको थियो ।
नेपालले समूह चरणको २ खेलमा मात्र १ अंक जोड्यो । र, नेपाल पुछारमा रह्यो । ४ अंक जोडेको भुटान समूह विजेता र २ अंक जोडेको माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।
नेपालले यस अघि दुवै संस्करणको उपाधि जितेको थियो । घरेलु भूमिमा भएको पहिलो संस्करण र भुटानमा भएको दोस्रो संस्करण नेपालले जितेको थियो ।