काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय महिला फुटबल टिमको तयारी पोखरामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागको तयारीमा रहेको महिला टिमको तयारी पोखरामा गर्ने निर्णय गरेको हो । त्यसका लागि नेपाली टिम मंगलबार पोखरा प्रस्थान गर्दैछ । नेपाली टिमले अब सागसम्मै पोखरामा रहेर तयारी गर्नेछ ।
मुख्य प्रशिक्षक हरि खड्काले नेपालले अबको अन्तिम तयारी पोखरामा रहेर गर्ने बताए । ‘हामी आज पोखरा जाँदैछौ । पोखरामा रहेर अन्तिम तयारी गर्नेछौ,’ उनले खेलपाटीसँग भने ।
साग मंसिर १५ बाट २४ गतेसम्म पोखरा र काठमाडौंमा आयोजना हुँदैछ । महिला फुटबल पोखरा रंगशालामा हुने कार्यक्रम रहेको छ ।
नेपाली टिमले पोखरामा आर्मी क्लबको मैदान र सहारा एकेडेमीको मैदानमा रहेर तयारी गर्नेछ ।
सागको तयारीमा रहेको महिला टिम किर्गीस्तानमा भएको नादेझ्दा कपमा उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
त्यस अघि नेपालले आयोजक किर्गीस्तानलाई ८–२ हराएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको नेपाल तेस्रो तथा अन्तिम खेलमा ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिता भर ७ गोल गरेकी नेपाली सावित्रा भण्डारी टप स्कोरर भएकी थिईन । यसै प्रतियोगिताबाट सावित्राले पुर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानी बराबरी गरेकी थिईन् ।