काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको पाचौं दिन आज (मंगलबार) भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने भुटान र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, भुटान र माल्दिभ्सबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
भुटान माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ । यस्तै माल्दिभ्स पनि भुटानलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ ।
भुटान यस अघिनै सेमिफाइनल पुगिसकेको छ । अब माल्दिभ्स र नेपाल मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन् ।
समूह 'ए' मा रहेको भुटान र माल्दिभ्सबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेको छ । यस खेलले नेपालको सेमिफानल समिकरण तय हुनेछ ।
एक खेल खेलेको भुटानको ३ अंक रहेको छ । एक नै खेल खेलेको माल्दिभ्सको १ अंक रहेको छ । दुई खेल खेलेको आयोजक नेपालको १ अंक रहेको छ ।
नेपालको सेमिफाइनल सम्भावना अंक गणितीय रुपमा बाँकी रहेको छ । किनकी नेपाललाई सेमिफाइनल पुग्नु भुटानले माल्दिभ्सलाई भारी अन्तरले हराउनु पर्ने हुन्छ । माल्दिभ्स झिनो अन्तरले पराजित भए वा खेल बराबरीमा सकिए नेपाल समूह चरणबाटै बाहिरिने छ ।
नेपाल सेमिफाइनल पुग्न भुटानले माल्दिभ्सलाई ४-० गोलको जित निकाल्नु पर्ने हुन्छ । भुटान र माल्दिभ्सले अंक बाडेमा दुई पटकको च्याम्पियन नेपाल बाहिरिनेछ । त्यसैले नेपालको भाग्य भुटानको हातमा रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भएको थियो ।