काठमाडौं । फिफा वर्ष खेलाडी अवार्ड अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हात पारेका छन् । अवार्ड जित्ने क्रममा मेस्सीले भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।
फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । र, यस वर्ष मेस्सीले सर्वाधिक मत प्राप्त गर्दै अवार्ड जितेका हुन् ।
मेस्सीले कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकबाटै सर्वाधिक मत प्राप्त गरेका थिए । मेस्सीले अवार्ड जित्ने क्रममा कुल ४६ प्रतिशत मत प्राप्त गरे । दोस्रो स्थानको भान डाइकले ३८ र तेस्रो रोनाल्डोले ३६ प्रतिशत मत पाएका थिए ।
सदा झैँ नेपालका कप्तानले पनि अवार्डका लागि भोट गरेका थिए । र, नेपालका तत्कालिन कप्तान विराज महर्जनले पहिलो रोजाईमा रोनाल्डोलाई भोट गरेका छन् । फिफाले सार्वजनिक गरेको मत लिस्ट अनुसार महर्जनले ५ अंकको पहिलो मत रोनाल्डोलाई दिएका थिए । त्यसपछि ३ अंकको दोस्रो मत मेस्सी र १ अंकको मत भान डाइकलाई दिएका छन् ।
प्रशिक्षक योहान कालिनले पहिलो मत मेस्सी, दोस्रो रोनाल्डो र तेस्रो मत भान डाइकलाई दिएका छन्।
यस्तै पत्रकारबाट नेपालका रितेश रिजालले भोट गरेका थिए । दि काठमाडु पोस्टका रिजालले पहिलो भोट मेस्सी, दोस्रो केलियन एमबाप्पे र तेस्रो भोट भान डाइकलाई मत दिएका छन् ।
अवार्ड विजेता मेस्सीले पहिलो नम्बरमा लिभरपुलका साडियो माने, दोस्रोमा रोनाल्डो र तेस्रोमा फ्रेन्की डी जोङलाई मत दिएका छन् ।
रोनाल्डोले भने मेस्सीलाई मत दिएनन् । रोनाल्डोले पहिलो मत म्याथिस डी लिग्ट, दोस्रो मत फ्रेन्की डी जोङ र तेस्रो मत केलियन एमबाप्पेलाई दिएका छन् ।
भान डाइकले मेस्सी, मोहमत सलाह र साडियो मानेलाई मत दिएका छन् ।