काठमाडौं । एक समय भुटान दक्षिण एसियाली फुटबलमा हारको पर्याय थियो ।
विश्व राजनीतिमा भारतमा निर्भर भुटानले फुटबलमा भने बेग्लै परिचय बनाउन खोज्दैछ ।
दक्षिण एसियाको केन्द्रमा रहेको भारत विस्तारै फुटबलमा समेत महादेशीय शक्ति आर्जन गर्दैछ ।
त्यही समय भुटान दक्षिण एसियाली फुटबलमा आफ्नो परिचय बदल्न खोज्दैछ ।
त्यसैको उदाहरण भुटानले हिजो (आईतबार) काठमाडौंको हलचोक मैदानमा प्रस्तुत गर्यो ।
उसले सविक विजेता नेपाललाई साफ यू-१८ च्याम्पियनसिपमा हराईदियो । धेरैका लागि नतिजा अप्रत्यासित थियो ।
पछिल्लो समय फुटबलमा भुटानले गरेको लगानीले नेपाली मैदानमा आईतबार रंग देखाएको थियो ।
खेल सकिदाँ भुटानले खेल ३-० गोलले जितेको थियो । नेपालका लागि त्यो लज्जास्पद हार थियो ।
हारपछि नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले दोष मैदानमा लगाए । तर त्यही दोषी मैदान भुटानका लागि पनि उत्तिकै कठिन रहेको सत्य उनले किन बिर्सिए ?
त्यही हारले नेपाल प्रतियोगिताबाट बाहिरिने संघारमा छ । एक हिसाबमा नेपालको अघिल्लो चरणको सम्भावना गणितमा अल्झिएको छ ।
मंगलबार हलचोक मैदानमा भुटान र माल्दिभ्स उत्रदैछन् ।
नेपाल भने भुटानको ठुलो अन्तरको जितको कामना गर्दै बस्नेछ ।
भुटानले माल्दिभ्सविरुद्व निकाल्ने ठुलो अन्तरको जितले मात्र नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ । नत्र सुरुवाती दुई संस्करणको विजेता नेपाल समुह चरणबाट बाहिरिनेछ ।
नेपालले दुई खेलबाट १ अंक जोडेको छ ।
मात्र एक खेलबाट माल्दिभ्सले एक अंक जोडेको छ । तीन अंक जोडेर शीर्ष स्थानमा रहेको भुटान एक खेल अगावै सेमिफाईनल प्रवेश गरिसकेको छ ।