काठमाडौं । बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भुस्थित शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न सकेनन् ।
यस्तै खेलमा भारतलाई भने खेलाडीको चोटले सताएको छ । खेलको चौंथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए । बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो ।
यो बराबरीसँगै समूह 'बी' को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । बराबरीसँगै भारतले १ अंक जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ ।
उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । श्रीलंका अंकविहिन रहेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ ।