एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा डर्टमण्ड फ्रान्कफर्टसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
फ्रान्कफर्टको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा डर्टमण्ड बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा एलेक्स विसलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
खेलको ६६ औं मिनेटमा जोडन सान्चोले गोल गर्दै डर्टमण्डलाई पुनः २-१ को अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा थोमस डिलानेले आत्मघाती गोल गरेपछि डर्टमण्ड २-२ गोलको बराबरीमा रोकिन पुग्यो ।
यो बराबरीसँगै डर्टमण्डले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । डर्टमण्डले ५ खेलबाट १० अंक जोडेको छ । डर्टमण्ड लिगको तेस्रो स्थानमा छ । फ्रान्कफर्टको ५ खेलमा ७ अंक छ ।